राष्ट्रपति बन्ने अवसर आए पछि हट्दिन स्वीकार्छु – झलनाथ खनाल

इलाम । पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुन लाग्दा नलाग्दै नयाँ सरकार गठन भइसक्ने बताएका छन् । इलामको साखेजुङमा आज आयोजित कार्यक्रममा उनले सबै प्रक्रिया पूरा गर्न केही समय लाग्ने भएकाले फागुन महिना लाग्दा नलाग्दै नयाँ सरकार गठन भइसक्ने बताएका हुन् ।

नेकपा एमालेका पूर्वअध्यक्ष समेत रहेका खनालले सरकार गठनसँगै माओवादी केन्द्रसँगको पार्टी एकीकरणसमेत अघि बढ्ने उल्लेख गर्दै “पार्टी एकीकरण हुन्छ, यसमा कसैले शंका गर्नु पर्दैन,” भने।

दुवै पार्टी एकीकरणपछि सबैले समान अधिकार पाउने छ, उनले भने, “कसैलाई काखा कसैलाई पाखा लगाउने काम हुँदैन ।”

एक फरक प्रसंगमा वरिष्ठ नेता खनालले आफूलाई राष्ट्रपति बन्ने अवसर आए स्वीकार गर्ने तर त्यसका लागि आफूले लभिङ नगर्ने बताउँदै अवसर आए पछि नहट्ने धारणा व्यक्त गरे ।

शुक्रबार, पुस २१, २०७४ मा प्रकाशित खबर