आंसु गायक कृष्ण कंडेलको जीवनी, संघर्षबाट सफलता सम्म

धर्तिको अँध्यारो कालरात्रीलाई चिरेर सूर्य उदाउँछ र अस्ताउँछ । ६ वटा ऋतुहरुको स्पर्श गर्दै पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ । यहि प्राकृतिक नियमसंगै नेपाली सांगितिक आकाशमा पनि धेरै कालजयी स्रष्टाहरु उदाउने र अस्ताउने क्रमसंगै एउटा अधभुत् र बहुआयमिक कलाको धनि व्यक्तिव हुनुहुन्छ कृष्ण कँडेल । लक्ष्यप्रति अथक मिहनेत, अबिचलित भावना र अटल स्वाभिमानी बन्दै सधैं सादा जीवन र उच्च बिचारका ज्वलन्त उदाहरण बन्दै आउनु भएको छ।

सुर्खेत जिल्लाको पश्चिम साविक बाबियाचौर गा.वि.स.वडा नं.८ लाटीकांडा (हाल पञ्चपुरी न.पा.५) मा बसोबास गर्ने बुवा सिताराम कंडेल र आमा देउकली कंडेलको कोखबाट वि.सं. २०२९ साल फाल्गुण २ गतेका दिन जन्मिनु भएको हो । उहां तिन जना दाजुभाई मध्येको माहिलो छोरा हुनुहुन्छ। जेठो दाजु नरहरी कंडेल र कान्छो भाई टिकाराम कंडेल हुन् भने ४ जना दिदीबहिनीहरु हनुहुन्छ। हाल उहांहरु पहिलेको स्थानबाट बसाई सरी जेठोदाजु र कान्छोभाई कैलालीको सुख्खडमा बस्दै आएका छन् भने उहांको परिवार हाल सुर्खेतस्थित बीरेन्द्रनगरमा बस्दै आउनुभएको छ ।

दैवको लिला पनि कस्तो कसैले सोचेको जस्तो हुंदो रहेनछ बुवा आमासंगै बस्ने रहर हुंदाहुंदै बुवा २०६८ सालमा र आमा २०६२ सालमा स्वर्गिय हुनु भयो । के गर्ने संसारको नियम यस्तै छ सधैंभर कोही पनि जीवित र संगै सधैंभरी रहन सक्दैन, ढिलो चांडो मात्रै हो, सबैको एउटै मार्ग हो । मन बुझाउनै पर्ने रहेछ । हाल उहांहरुसंग ९५ बर्षकी हजुरआमा हुनु हुन्छ । अझै ठमठम हिड्दै हुनुहुन्छ । भगवान्को कृपाले आजसम्म उहां सकुशल नै रहनु भएको छ । जीवनमा जस्तोसुकै परिस्थिती परे पनि नहडबढाउने, एकदमै धैर्य, शान्त स्वाभाव र बाचुञ्जेल जीवनमा केही गर्नु पर्छ भन्ने भावनाकासाथ अगाडी बढि राख्नु भएको छ । उहांलाई हरसमयमा साथ सहयोग दिने र आज यहांसम्म पु¥याउन महत्वपुर्ण भुमिका निर्वाह गर्नु हुने उहांकी धर्मपत्नि पद्य्मा कंडेल (घिमिरे) समाजमा एक प्रतिष्ठित र नमुना गृहणीको रुपमा चिनिनु भएको छ । उहांहरुको २०४७ सालमा माया प्रेमबाट वैवाहिक सम्बन्ध हुन पुगेको थियो । उहांहरुको साथमा एक मात्र भाग्यमानि छोरा कुशल कंडेलको जन्म मिति २०५९ सालमा भएको थियो । अति नै शान्त स्वभाव, मिलनसार, अनुशासित र पढ्नमा ज्यादै मिहनेती तथा लगनशिल भएको कारण हालसम्म पढे जतिको विद्यालयमा उत्कृष्ट स्थान प्राप्त गर्न सफल भई नै रहेका छन् ।

उहांको पारिवारिक अवस्था मझौला स्तरको थियो । बुवाआमा अति नै मिहनेती, कृषि तथा गाई, भैंसी र बाख्रा पालनमा गाउंमै पहिलो स्थानमा चिनिनु भएको थियो । सानै उमेरदेखि नै तिक्ष्ण विवेक र बहुआयमिक प्रतिभाशाली व्यक्तिव भएकोले पढाईमा उत्कृष्ट नतिजा ल्याउन सफल हुने र विद्यालयका हरेक कार्यक्रमहरुमा भाग लिई हरेक नाचगान, दोहोरी गीत प्रतियोगिता, बक्तिवकला, कविता र मनोरन्जनका अन्य कृयाकलापहरुमा त झन् सबैभन्दा उत्कृष्ट कलाकौशल भएको व्यक्तिव हो । अझ उहांको विशेषता के छ भने जुन ठाउंमा जस्तो परिवेश, वातावरण र परिस्थिती छ त्यही अनुसार र कुन मान्छे कस्तो छ त्यस्तै किसिमका मेल खाने गीत, कविता र लेखहरु छिनभरमै तयार गरी मुक्तकण्ठबाट प्रस्तुत गरि हाल्ने अद्भुत कला भएको व्यक्तिव पनि हो ।

आज यहांसम्म आई पुग्दा बुवा आमाको मुख्य देन भएता पनि बिशेष गरी उहांकी धर्मपत्नि पद्य्मा कंडेलको अग्रणि भुमिका रहन्छ । भनिन्छ नारी बिनाको कुनै पनि पुरुषले सफल कामको परिकल्पना गर्न सकिदैन, हो वास्तवमा उहांहरुको दाम्पत्य जीवन कठिन संघर्षशिल पथबाट यहांसम्म आईपुग्दा दुवै जनाको सुमधुर साथ, सम्बन्ध र अटल माया ममतामा कुनै पनि कमी भएको देखिएन । कति दुःख पीडा, कैयौं तनाव र व्यवधान सृजना भएपनि तर कहिले पनि दुःखमा नआत्तिई सुखमा नमात्तिई सहज रुपमा लिई संघर्षबाट नै एउटा सफल जीवनको शुरुवात हुन्छ भन्ने हेतुले निरन्नतर रुपमा अगाडि बढी राख्दा आज यो उचाईंसम्म पुग्न सफल यो जोडीको प्रशंसा गर्नै पर्ने हुन्छ । आजको यो जीवनचर्या यहांसम्म उचांईमा पुग्नु वहांको धर्मपत्निको महत्वपुर्ण योगदान रहेको छ ।

करिब १७ बर्षसम्म नेपाली सेनामा कार्यरत् रही देश, जनता र समग्र सार्वभौमप्रति वफादार र ईमान्दार रही एक सक्षम र कुशल सिपाहीको महत्वपुर्ण भुमिका निर्वाह गर्दै आउनु भएको हो । जागिरको दौरानमा कैंयौ प्रतिकुल परिस्थितीका बावजुद पनि सेनामा गर्नु पर्ने कठिान र जटिल तालिम सम्बन्धि व्यवहारिक तथा सैद्यान्तिक ज्ञान हासिल गरी आफ्नो क्षमता र योगदानलाई प्रस्तुत गर्नु भएको थियो । त्यतिबेला देशको परिस्थिती पनि अलि बदलिंदो र चुनौतिपूर्ण भएपनि एउटा कर्मठ सिपाही भएर आफ्नो अनुशासनलाई पालना गरी हरबखत चुस्तदुरुस्त कर्तव्यनिष्ठ भई जिम्मेवारी बोधकासाथ कर्तव्यशिल पथमा समर्पित रहेकोले उक्त कार्यको मुल्याङ्कनन भई २०६० सालमा स्वर्गिय राजा वीरेन्द्रबाट गोरखा दक्षिण बाहु प्रथमबाट विभुषित हुनु भएको थियो । साथै जागिरको अवधिमा नेपाली सेनाको तर्फबाट दुईपटक यु.एन. मिशन (शान्ती सेना) मा सहभागि हुने मौका पाउनु भएको छ भने सेनामा कार्यरत् रहंदा कैंयौं पदक तथा विभुषण प्राप्त गरि सक्नु भएको छ ।

सानै उमेरदेखि गाउंमा मेलापात, घांस दाउरा खोज्न वन जंगलमा जांदा सुरिलो भाकामा गीत गाउने, रुखको पातबाट बिभिन्न धुन बजाउने र बांसुरीबाट पनि मिठो धुन बजाउने हुंदा गीत संगितप्रति बिशेष रुचि र चासो राख्ने व्यक्ति हो । विद्यालय तथा अन्य जस्तोसुकै कार्यक्रम हुंदा पनि उक्त कार्यक्रममा भाग लिई आफ्नो कला प्रस्तुत गरी सबैलाई मनोरन्जन दिदै आउनु भएको थियो भने कला संस्कृतिप्रति बढी नै ईच्छाशक्ति भएको कारण उहां २०४९ साल काठमाण्डौ आउनु भएको थियो । काठमाण्डौ आउंदा उहांको साथमा म भक्त बहादुर देउवा पनि आएको थिएं । हामीले धेरै दुःख भोगे पनि सुर्खेतको छाप्रे धनबोटबाट काठमाण्डौमा बसोबास गर्नु भएका हजुरबुवा गणेश बहादुर के.सी. ले हामीलाई साथ र संरक्षण दिनु भएको थियो । उहांको अथक माया र सहयोग विना हामी आज यहांसम्म पुग्दैन थियौं होला । उहांलाई जीवनभर सम्झि रहने छौं । उहांका जेठो छोरा विष्णु बहादुर के.सी. त्यतिबेला महालेखा परिक्षक पनि हुनु भएकोले हामीलाई हरेक काममा कुनै अप्ठ्यारो थिएन । हामी उहांहरुकै नाम लिएर जुनसुकै ठाउंमा ढुक्कसंग आफ्नो व्यवस्थापन गर्न चिरपरिचित भएका थियौं । उहांहरुले नै गर्दा आज यहांसम्म सफल भयौं । उहांहरुको परिवारलाई बाराम्बार भगवान स्वरुप मान्दै आएका छौं भने सधैं सम्झि पनि रहने छौं ।

गीतमा केहि रुचि भएता पनि त्यति बेला गीत संगितका अन्य कुनै प्रविधिहरु नभएकोले रेडियो नेपालबाट चौतारी कार्यक्रम हप्ताको एकचोटी संचालन मात्र हुने र त्यसमा पनि महिनौं दिनसम्म क्युंमा बस्नु पर्ने र अलि संघर्ष गर्नुपर्ने अवस्था थियो । तैपनि दुईतिन पटक चौतारी कार्यक्रममा गीत गाउन सफल भएपनि रेडियो नेपालसम्म पुगी गीत रेकर्ड गराउने माध्यम त झनै टाढाको कुरो थियो । तैपनि आफ्नो कला र मिहनेतलाई विश्राम नलिई २०४९ सालमा रेडियो नेपालमा लोकगित प्रतियोगिता हुंदा उहां उत्कृष्ट गायक र संकलक हुन सफल बन्नु भएको थियो । कडा प्रतिष्पर्धाको वावजुद पनि आफ्नो प्रयास र क्षमतालाई निरन्तरता दिदै जांदा रेडियो नेपालमा आदरणिय गुरु नारायण रायमाझी, प्रेमराजा महत, स्वर्गिय दाजु युक्त गुरुङ्ग र वम बहादुर कार्कीसंग भेट गर्ने अवसर मिल्यो ।

तत्पश्चात् छोटो समयमा उहांहरुसंग निकट सम्बन्ध कायम हुदंै केहि समयपछि रेडियो नेपालमा श्वर परीक्षाको प्रतिस्पर्धाकोे लागि प्रयास गर्नु भएकोमा त्यसमा सफल पनि हुनु भयो । श्वर परीक्षा पास भएपश्चात् मात्र आफ्नो गीत रेकर्डडिङ्ग गर्न पाउने प्रावधान भएकोले यहांसम्म आई पुग्न कडा संघर्ष गर्नु पथ्र्यो । गीत गाउनको लागि मिति पर्खिनु पर्ने आफ्नो कुन डेटमा हो अनि बल्ल महिनौ दिनपछि गीत रेकर्ड गर्न सकिने हुंदा त्यो अवस्थाको वावजुद पनि वहांले २०५० सालमा “ सालकोट छाप्रे विद्यापुर डाडैंले, मुटु चुड्यो मायालु लाटीकांडैले ” भन्ने पहिलो गित रेकर्ड गर्ने मौका पाएर होला यो गित गाउंठाउंको परिवेशलाई समेटिएको भएर पनि हो रेडियोबाट निकै बज्यो, दुनियांले सुने र कृष्ण कंडेलको नाम पनि चर्चामा पुग्यो । त्यसपछि भने गीत गाउन र अन्य सांगितिक कार्यक्रमा सहज हुदै गयो । किनकि आदरणिय गुरु तथा अभिभावकहरु नारायण रायमाझी, प्रेमराज महत, स्वर्गिय दाजु युक्त गुरुङ्ग र अन्य बरिष्ठ कलाकारहरुको सुझाब, सल्लाह, संगत र प्रेरणाबाट आफ्नो सांगितिक लगाब बढाउदै जाने अबसर प्राप्त भयो । त्यसपछि लगतै दोस्रो गित “सल्लीचौर” भन्ने बोलको गित रेकर्डडिङ्ग हुदै करिब १०/१५ वटा गीत रेडियो नेपालमा रेकर्डडिङ्ग भएका छन् भने पछि बाहिर म्युजिक कम्पनी तथा अन्यबाट पनि संयौं चर्चित लोकगीत, लोकभजन, देउडागीत र तीजका गीतहरु अझै चर्चित रुपमै बजि रहेका छन् ।

साथै, उहाँ नेपाली मिडियामा पहिलो पल्ट गीतबाटै समाचार बाचन गर्ने संचारकर्मी हुनुहुन्छ । विद्यार्थी जीवनदेखि नै गीत संगीतलाई अभिन्नअंगको रुपमा अंगिकार गर्दै आउनुभएको उहाँले यसैको माध्ययमबाट जिल्ला तथा अंचल स्तरमा आफूलाई र आफूले अध्ययन गरेको विद्यालयलाई समेत अग्रपंक्तिमा उभ्याउन सफल हुनुभएको थियो । समाजसेवाको क्षेत्रमा आफूलाई सानै उमेरदेखि समर्पित गर्दै उहांको गीत र कविताबाट राजा विरेन्द्र र गीरिजा प्रसाद कोईराला समेत प्रभावित बन्नु भएको ज्वलन्त छ । उहां बिना पुर्व तयारी जुनकुनै विषय र सन्दर्भलाई तत्काल गीतमा उन्न सक्ने अत्यत्नै तिक्ष्ण कलाकौशलका धनि हुनुहुन्छ। शिक्षा, स्वास्थ्य, संस्कृति, सुसाशन, कृषि, पर्यटन, वन वातावरण र सरसफाई लगायतका समाजका समग्र जल्दाबल्दा विषयहरुमा प्रवेश गरी भित्रका चुनौति, समस्या र समाधान सहित समाज तथा राष्ट्रलाई नै अग्रगामी परिवर्तनको दिशातर्फ डो¥याउन सक्ने खुबिका कारण उहाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सयौं पुरुस्कार तथा मानपदवीहरुले विभुषितत हुनुभएको छ । स्वर्यिय राजा विरेन्द्रको हातबाट गोरखा दक्षिणबाहु र भ्रष्टचार विरुद्धको अभियन्ता हेम सरिता पाठक अन्तराष्ट्रिय पुरुस्कारबाट समेत सम्मानित भई सकेको यसका केहि उदाहरणहरु मात्र हुन ।

२०५६ सालतिर उत्कृष्ट लोकगीत संकलक भएर आफ्नो जीवनयात्रालाई निरन्तर अघि वढाउने क्रममा करिब २०० भन्दा बढि सुमधुर गीतहरु रेकर्ड गराई सक्नु भएको र उहां राष्ट्र, समाज र जनसमुदायलाई नै सर्वोपरि ठान्दै हरेक विपद र दुःखको घडिहरुमा मलम पट्टी बनी रहनु भएको छ । हाल एबीसी टेलिभिजनबाट दैनिक प्रशारण हुने कार्यक्रम ईन्द्रेणीको संस्थापक तथा संचालक हुनुहुन्छ। देशका हरेक कुनाकाप्चामा गीत संगीतको माध्ययमबाट मनोरञ्जन दिनुका साथै जनचेतना, जनजागरण र रुपान्तरणको सन्देशमूलक कार्यक्रमहरु पस्केर एकातिर मनोरञ्जन दिने र अर्कोतिर त्यहि मनोरञ्जन भित्रबाट सकारात्मक सन्देश सम्प्रेषण गरी सुन्दर, शान्त र समृद्ध राष्ट्र निर्माणको क्षेत्रमा सतिसाल बनेर उभिरहनु भएको छ ।

परिवर्तन आफैबाट शुरु गर्नुपर्छ भन्ने मान्यता बोक्नु हुने उहाँ सामान्य जनसमुदायदेखि राष्ट्रका विशिष्ट व्यक्तिवहरु सबैबिच उत्तिकै लोकप्रिय हुनुहुन्छ । अथक साधक र सरस्वतीको वरदान प्राप्त उहाँले गीत गाउन लागेपछि जस्तोसुकै कठोर हृदय भएका व्यक्ति पनि दिल खोलेर नाच्न वाध्य पार्ने एउटा अनौठौ कला देख्दा जो कसैलाई पनि आश्चर्य लाग्नु स्वभाविक हो । स्वर्गीय राजा विरेन्द्र देखि राष्ट्रपति र राष्ट्रिय स्तरका विशिष्ट व्यक्तिहरुलाई छमछमी नचाउन सफल नेपालकै एकमात्र कलाकार कृष्ण कँडेल हुनुहुन्छ भन्दा अत्युक्ति हुँदैन । “सबै जना थोर्थोरै ढल्क, मिल्नु बाहेक केहि छैन विकल्प ” भन्दै गीतको माध्यमबाट सन्देश दिदै हिँड्ने उहाँ राष्ट्रियता, जनजीविका र जनहीतको पक्षमा सम्पूर्ण मनमुटुहरु एकत्रीत र एक ढिक्का बनेर अघि वढ्नु पर्ने कुरामा सदैव जोड दिनुहुन्छ ।

गितको माध्यमबाट प्रतिक्रिया दिनसक्ने र सबैको नजरमा मौलिक संगित र संस्कृतिलाई उजागार गर्ने व्यक्तिको रुपमा लिन थालियो र तत्पश्चात् उहांको मौलिक सांगितिक कलाप्रतिको योगदानलाई कदर गर्दै नेपाल सरकारबाट उहांलाई २०७२ सालमा राष्ट्रको गहनाको रुपमा “आसु गायक” उपाधि प्रदान गरी यस्तो किसिमको उच्च सम्मान पाउने पहिलो व्यक्तिको घोषणा समेत गरेको छ । अझ आफ्नो कला कौशल र क्षमतालाई कसरी नयां ढंगबाट अगाडि बढाउंदै लैजाने भन्ने सोचका साथ लाग्दैजांदा आजको परिवर्तनशिल समाजमा केहि नौलो प्रस्तुति पस्किनको लागि निरन्तर अगाडि बढ्न अझै पनि छोड्नु भएको छैन र सबैसंग आत्मियताको भावना राखी आफुले स्वच्छ र निःशार्थ भावबाट दिन दुःखी, गरिब असाह्य तथा बिभिन्न कारणबाट पिडादायिक जीवन बिताई रहेका व्यक्तिहरुको सेवा र उद्दारमा सधैं समर्पित भई रहने स्वाभाव भएको एक कुसल सर्जक व्यक्तिव हो ।

कार्यक्रम ईन्द्रेणीको छायांकनको क्रममा कहिले आकाशबाट, कहिले रिक्साबाट, कहिले नदीबाट, कहिले तालतलैयाबाट, कहिले भिर पहरा, रुख, आँधितुफान, बंगुरको खोर बाख्राको गोठ, माछा पालन, आलु खेती, बिभिन्न कृषि फर्म तथा नेपालका चर्चित हाइड्रो पावर, ठुला ठुला जलविद्युत लगायत हरेक ठाउँबाट केहि न केहि सकारात्मक सन्देश प्रवाह गर्न आफ्नो स्वास्थ्य र परिवारको समेत ख्याल नगरी जस्तोसुकै दुःख, कष्ट र चुनौतिहरु मोल्न तयार बन्ने एउटा कर्मट योद्धा कृष्ण कँडेल, जो राष्ट्रले नै गर्व गर्नुपर्ने राष्ट्रिय आभूषण हो । रेडियो नेपालमा नेपाली सैनिक रेडियो कार्यक्रम संचालनदेखि नेपालमा १० वर्षे द्वन्दपश्चात शान्ति अभियानको अभियन्ता बनेर लागि पर्नुले पनि उहाँको राष्ट्रभक्ति दिनको घामजस्तै छर्लड्ड देखिन्छ । जहाँ ईच्छा त्यहाँ उपाय भने झैँ विगत करिब १० वर्ष पुग्दा सम्म पनि निरन्तर कसैको लगानीविना, निस्वार्थ रुपले मौलिक बाजागाजा सहित २० जनाको स्थायी टिमलाई तलबको व्यवस्थापन र सुविधामा कुनै कमी छैन । देशमा वातावरण, पर्यटन र कर जागरण लगाएत नेपाली समाजका विविध क्षेत्रमा अहोरात्र आफ्नो ख्याल नराखी यसरी लागि पर्ने दोश्रो व्यक्ति नै छैन भन्दा फरक नपर्ला । २०७१ सालको मंसिरमा सम्पन्न अठारौँ सार्क शिखर सम्मेलनको दौरानमा होस् वा कर जागरण सम्बन्धि जनचेतनामूलक सम्बन्धि विविध कार्यक्रम र वाग्मती सरसफाईको अगुवा लगायत नेपालका विभिन्न ठाउँ र समुदायहरुमा उहाँको समाज र राष्ट्रप्रतिको समर्पण र निस्वार्थ भाव सबैको सामु छर्लड्ड प्रष्टिन्छ ।

२०७१ सालको सुर्खेतको वाढीपहिरो होस वा २०७२ सालको महाभुकम्प लगायत अन्य विपतको घडिहरुमा पिडितहरुको आवाज बनेर वास्वविक संचारकर्मीको परिचय दिन सफल हुनुभएको छ भने छिन्नभिन्न पारिएका गाउँ–शहरका तनमनहरुलाई सान्त्वना दिँदै हरेक प्रभावित क्षेत्रहरुमा पुगि राहत र आहतमा दिनरात नभनि लागि पर्नुले नै उहाँको व्यक्तित्व र उदार भावनाको परिचय दिन्छ । पिडितहरुको घरदैलोमा पुगी नयाँ उर्जा थप्ने काम गर्नाले उहाँको जनसमुदायसँगको आत्मीयता अझ बढ्दै गएको छ भने चाहे १०० बर्षे वृद्ध/वृद्धाहरु हुन वा भर्खरका बालबालिका सबैसंगको प्रगाढ सम्बन्ध साँच्चिकै लोभ लाग्दो देखिन्छ । यसरी नेपाली सांगितीक आकाशको एउटा ध्रुवतारा बन्न सफल कृष्ण कँडेल आफैमा एउटा बहुआयमिक प्रतिभाको धनि मात्र नभएर राष्ट्रको सर्वाड्डीण विकासमा हरपल योगदान दिन सफल राष्ट्रकै एउटा मजवुद खम्बा समेत हो । सगरमाथा हिरक महोत्सवको सांस्कृतिक संयोजक जस्तो गरिमामय जिम्मेवारी समेत वहन गरी सक्नु भएको र अन्य कैयौं जनमुखी र जनहितको काम गरि सक्नु भएको र उहाँले अहोरात्र राष्ट्र तथा राष्ट्रियताप्रति गरेको विशाल योगदानको कदर गर्दै २०७४ सालको गणतन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपतिबाट उहांलाई जनसेवा श्री बाट विभुषित तथा सम्मान समेत गरिएको छ ।

आजको रुपान्तरणित समाजमा दैनिक भई राख्ने सामाजिक कृयाकलाप र अन्य गतिविधिलाई र आफ्नो मौलिक पहिचानलाई जोगाई राख्नको लागि हिमाल, पहाड, तराई मधेशको प्रतिनिधित्व गर्ने गरी नेपालको ७७ जिल्लाकै हरेक गाउंबस्ती, कुनाकन्दरा र विदेशमा समेत पुगि सांगितिक प्रस्तुतिद्घारा मनोरन्जन र सन्देश दिदै आउनु भएको छ । जसरी सप्तरङ्गि रङ्ग मिलेर एउटा लोभ लाग्दो रमणिय इन्द्रेणी बनेको हुन्छ त्यसैगरी “इन्द्रेणी” कार्यक्रम एउटा व्राण्डको रुपमा आज संसारभरी नियाल्न सकिने उत्कृष्ट र सबैको लोकप्रिय कार्यक्रम बनेको छ। देश विदेशमा रहेका हरेक नेपालीको सुखदुःख, पीडा तथा सामाजिक परिवेशलाई गीत संगीतद्घारा पस्किदा नेपालीहरुको मन मस्तिष्कमा इन्द्रेणी बसेको छ । चाहे सामाजिक विकृतिका मुद्दा होस् चाहे जातजाति, भेषभुषा, धर्म, संस्कृति र धार्मिक कलाकौशलको महत्वका विषय वस्तुप्रतिको चिन्ता, चासो र जगेर्नाको कुरा होस्, या विदेशमा गई विभिन्न कारणबाट फन्दामा परी जेल सजाय पाएकालाई बचाउने अभियानका साथ स्वदेश फिर्तााको मुद्दा उठान होस् चाहे मृगौला या क्यान्सर पीडित होस् तथा देशमा बिभिन्न दैवी प्रकोप, भुकम्प, बाढी पहिरोबाट पिडित र अन्य कुनै किसिमबाट पिडित भएका छन् भने पनि त्यस्ता खालका मुद्दाहरुलाई यसै इन्द्रेणी मार्फत सहयोगको पहल गरी देश विदेशमा रहेका सहयोगी मन र हातहरुबाट संकलित रकमलाई सम्पुर्णले पारदर्शी रुपमा देख्ने गरी सम्बन्धितकै हातमा पर्ने गरी हस्तान्तरण गर्दै आई रहेको आजको परिवेशमा सबैको ऐना बनेको छ इन्द्रेणी । त्यति मात्रै होइन पीडामा छट्पटाई रहेका पिडकहरुको दुःखमा हांसो र चहराई रहेका घाउहरुमा मलमपट्टि लगाई दिने काम गर्दै आज इन्द्रेणी यहांसम्म पुगेको छ ।

बिभिन्न पिडामा परी अन्तिम अवस्थामा पुगेका निम्न व्यक्तिहरुको उद्दार तथा राहत जुटाई जीवन बचाउने काम पनि ईन्द्रेणी कार्यक्रम मार्फत भएको छ । काभ्रेका रामचन्द्र तिमिल्सेना र ईलाम दानाबारीका प्रेम बहादुर राईलाई साउदी अरवमा आजीवन जेल सजाय दिएकोमा जेलमुक्त गर्नको लागि करिब ९५/९५ लाख ब्लडमनि जुटाई स्वदेश फिर्ता ल्यार्ईएको छ भने साउदी जेलमा रहेका अर्का रोल्पाका दिल बहादुर घर्तीको लागि समेत एक करोड भन्दा बढी व्लडमनी संकलन भएको छ। त्यस्तै मृगौला पीडितहरुमा पोखराका पुष्पलाल तिमिल्सेना, गल्फुकोटका भिम बहादुर बोहरा, भैरहवाका लोकगायक पुर्ण गुरुङ्ग, तनहुंका अरुण गुरुङ्ग, लम्जुङ्गकै सुरेन्द्र गुरुङ्ग, वरिष्ठ पत्रकार तेज कुमार श्रेष्ठ, लम्जुङ्गकी थुप्री गुरुङ्ग, झापाका शिव कुंवर, काठमाण्डौका गणेश संगत श्रेष्ठ, काभ्रेका नारायण गिरी, मोरङ्गका डम्बर ओझा, सिन्धुपाल्चोककी १४ बर्षिय बिनिसा बस्नेत, ताप्लेङ्गकी सुष्मा राई, रुकुमका गंगाराम नकाल, रुकुमकै कविराम वली, रौतहटका नन्दीकिशोर यादव, सप्तरीका सुरज राउत, लम्जुङ्गका होम बहादुर गुरुङ्ग, काभ्रेकी पुतली तामाङ्ग, श्याम नारायण श्रेष्ठ, समिर तामाङ्ग, तेह्र्थुमकी खिनमाया लिम्बु, बझाङ्गका दिपेन्द्र धामी, जलजला परियार लगायतका व्यक्तिहरुलाई इन्द्रेणी मार्फत लाखौं रकम जुटाई उनीहरुको मृगौला प्रत्यारोपणमा सहयोग हस्तान्तरण गरि सकिएको छ भने कयौंको रकम जुट्दै गरेको अवस्था छ ।

त्यस्तै क्यान्सर पिडित रुकुमका पृथ बहादुर खत्री, कालीकोटकी मनसरा लोहार, सुर्खेतकी तुलसीदेवी खनाल, सुर्खेतकै लोक गायक खगेन्द्र नेपाली, गौतम पाख्रिन, वर्दियाका युवराज परियार लगायतका व्यक्तिहरुको लागि समेत लाखौं सहयोग रकम जुटाई हस्तान्तरण गरि सकिएको छ भने गोर्खाकी अपाङ्ग विष्णुमाया र प्रतमाया गुरुङ्ग, धादिङ्गका केदार भट्टको परिवार, सांखु सलम्बुटारका युवराज थापा, भक्तपुरका हरी गोपाल बेन्जु, रुकुमका आकाश विरही कान्छा, बरिष्ठ लोक गायक बुद्विकृष्ण लामिछाने, गोर्खाकी अपाङ्ग गायिका संगिता शिलवाल ,सुर्खेतका दृष्टिविहिन मैतराम परियार, बोनम्यारो पिडित बाग्लुङ्गका बेल बहादुर निराजन बस्नेत तथा दुर्घटनामा घाईते भएका लोक गायक माधव भण्डारी, सुर्खेतका जनप्रतिनिधि वडा अध्यक्ष रतन वि.सी. र तुल बहादुर सहकारी लगायत अन्य शारीरिक अपाङ्ग र तथा अशक्तहरुको लागि पनि सहयोग रकम जुटाई लाखौं रकम इन्द्रेणी मार्फत सम्बन्धितलाई हस्तान्तरण गरिएको छ ।

त्यस्तै इन्द्रेणी मार्फत कैयौं अशक्त, असाय र आर्थिक अभावमा छटपाटाई रहेका कैयौ व्यक्तिहरुको लागि सहयोग र व्यस्थापन गरिएको छ । आज यो कार्यक्रमको संस्थापक एबं संचालकको रुपमा रही नेपालको ७७ वटै जिल्लाको हरेक कुनाकन्दरा, गाउंबस्तीहरुमा पुगी त्यहांको सामाजिक परिवेश र वास्तविकतालाई बुझि मौलिक पहिचानलाई सबैको सामु छर्लङ्ग पार्नुका साथै लेवनान, हङ्गकङ्ग, चिन, हाईटी, जापान लगायतका अन्तराष्ट्रिय देशहरुमा सहभागि भई त्यहांको वस्तुस्थितीको बारेमा नेपाली समाजलाई कसरी रुपान्तरण पार्न सकिन्छ र हामी नेपाली कुनै चिजमा पनि कमी छैनौ सम्पुर्ण चिज आफ्नै देशमा छ तर हामी सबैले निःशवार्थ भावबाट देशको अस्तित्व बचाउनको लागि आफ्नो पहिचानको लागि बिभिन्न भाषा, जातजाति, मौलिक कला संस्कृति, रितिरिवाज र भेषभुषाको महत्व राख्नु पर्छ र कृषि, जलबिद्युत, बन जंगल, जल, जडीबुटी, जनावर र खनिज सम्पदा तथा जनशक्तिलाई सहि ढंगबाट प्रयोग र सदुपयोग गर्न सकिएमा देशको विकास भई आर्थिक समृद्वि तर्फ उन्मुख हुने र अरुको भरमा बस्नु पर्ने आवश्यक छैन भन्ने मान्यताका साथ सन्देशमुलक कार्यक्रमहरु यसै इन्द्रेणी मार्फत दिदै आई रहेको छ । वास्तवमा आप्नो घर र परिवारलाई भन्दा पनि समग्र देशको उन्नति र समुन्नतिको लागि समाजभित्रको संस्कार, संस्कृति र सम्पदालाई बचाउन ,विकृति विसङ्गतिलाई हटाउन र मौलिक पहिचानको महत्व दिनको लागि अहोरात्र निःश्वार्थ भावनाले निरन्तर रुपमा सामाजिक अभियन्ताको रुपमा भुमिका निर्वाह गर्दै आउनु भएको छ। वहांका यस्ता कैंयौं प्रशसनिय र उदाहरणिय कार्यहरुको प्रभावले गर्दा बिभिन्न बिशिष्ट व्यक्तित्वहरुबाट सम्मानित भई सक्नु भएको छ । राष्ट्रपति, प्रधानमन्त्रि, मन्त्रि, बौद्यिक, प्रागज्ञिक, साहित्य जगत र समाजसेवाका व्यक्तित्व र अन्तराष्ट्रिय स्तरमा समेत विशिष्ट सम्मान प्राप्त गरि सक्नु भएको छ । आजसम्म लगभग सयौं भन्दा बढी श्वर्णिम सम्मानबाट विभुषित हुनुका साथै त्यस भन्दा पनि बढी अन्य किसिमका सम्मान र प्रमाणपत्रहरु प्राप्त गरि सक्नु भएको छ ।

साथ,ै आफ्नै लगानीमा इन्द्रेणी कार्यक्रम संचालनको लागि पुतलीसडक, न्युप्लाजास्थित ए.वि.सि.टेलिभिजनको परिसरमा इन्द्रेणी कार्यक्रमको स्टुडियो निर्माण भई सकेको छ । आजको समय परिवर्तनशिल र विज्ञान प्रविधिको युग भएको कारण संसारमा सबै काम अव ईन्टरनेटको सहायताबाट गर्न र हेर्न सकिने भएकोले इन्द्रेणाी कार्यक्रमलाई संसारमा सम्पुर्णले खोज्न सक्ने गरी युट्युव च्यानलबाट इन्द्रेणी डट कम  हेर्न सकिने र वेवसाईटमा इन्द्रेणी समाज डट कम बाट ईन्टरनेटको सहायताबाट सर्च गरी हरेक दिनको नयां नयां प्रस्तुति र दैनिक राष्ट्रिय अन्तराष्ट्रिय समाचार तथा अन्य विविध गतिविधिहरु यसैको माध्यमबाट हेर्न सकिन्छ । साथै ए.वि.सि. टेलिभिजन मार्फत प्रशारण हुने इन्द्रेणी कार्यक्रम दैनिक सांझ ०६.१५ वजेदेखि ०७ः०० वजेसम्म, राती ११.१५ वजेदेखि १२ः०० वजेसम्म र बिहान ०५.१५ वजेदेखि ०६ः०० वजेसम्म नियमित प्रशारण भई राख्ने भएकोले सो कार्यक्रम संसारभरी हेर्न सकिन्छ । आजसम्म यो कार्यक्रमलाई आदरणिय दर्शक तथा श्रोता मानुभावहरुले अत्याधिक मन पराई दिनु भएकोले अति नै लोकप्रिय बन्दै गएको हुंदा अझै केहि कमी कमजोरी भएमा अमुल्य सुझाव र सल्लाहको लागि यहांहरुको निरन्तर साथ चाहिने भएकोले सिधै ९८४१४८९८३५ मा सम्पर्क राखी आफ्नो जिज्ञासा राख्न सक्नु हुनेछ ।धन्यवाद ।

लेखक:  भक्त बहादुर देउवा

आइतवार, भदौ २४, २०७५ मा प्रकाशित खबर