खाद्यन्नको उचित व्यवस्थापन गर्न सरकारलाई निर्देशन

 

काठमाण्डु, १४ असोज – संसदीय समितिले दसैं, तिहार, छठमा अभाव नहुने गरी गुणस्तरीय खाद्यन्न उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले चाँडपर्वमा अभाव नहुने गरी गुणस्तरीय खाद्यन्न उचित व्यवस्था गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले दैनिक उपभोग्य वस्तुको कालोबजारी हुन नदिने गरी आवश्यक अनुगमनको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको समितिकी सभापति पूर्णकुमारी सुवेदीले जानकारी दिइन् ।

समितिले भत्किएको कालीगण्डकी तटबन्द अर्को वर्षा नआउँदै बनाउने उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । एक वर्ष नबित्दै तटबन्द भत्किनुको कारण समितिमा एक हप्ता भित्र पेश गर्न उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई पनि निर्देशन दिइएको छ । बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले मन्त्रालयको नीति, कार्यक्रम र बजेटबारे समितिलाई जानकारी गराएका थिए ।

उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्थानीय समिति बनाएर संचालन गर्न लागिएको पनि बताए । मन्त्री खनालले कृषकलाई मल अभाव हुन नदिन आफू सचेत रहेपनि बजेट अभाव रहेको पनि समितिलाई जानकारी गराए ।

आइतवार, अशोज १४, २०७५ मा प्रकाशित खबर