कश्मीरबाट भारतीय सैनिक अपहरित, द्वन्द झन चर्किने खतरा…

२५ फागुन, काठमाडौं । जम्मु कश्मीरको बडगाम जिल्लामा भारतीय सेनाका एक जवान अपरहणमा परेका छन् । घर विदामा आएका मोहम्मद यासिन भट्टलाई चरमपन्थी समूहले अपहरण गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।

भट्ट एक महिनाको छुटि्ट लिएर काजिपोरास्थित आफ्नो घर आएका थिए । शुक्रबार हतियारसहित आएका चरमपन्थीहरुले घरभित्र छिरेर भट्टलाई आफूसँगै लिएर गएको समाचारमा उल्लेख छ । भारतीय अधिकारीहरुका अनुसार उनको खोजी कार्य जारी छ ।

यसअघि भारतीय सेनाका एक जना जवान औरंगजेब पनि घर विदामा आएको बेला अपहरणमा परेका थिए । पछि उनको शव फेला परेको थियो ।

कश्मीर क्षेत्रमा भारत र पाकिस्तानबीच लामो समयदेखि द्वन्द्व छ । पाकिस्तानको संरक्षणमा रहेका आतंकवादी समूहले भारतीय सेनालाई क्षति पुर्‍याइरहेको आरोप लगाउँदै आएको छ । तर, पाकिस्तानले भने त्यसलाई अस्वीकार गर्दै आएको छ ।

केही दिन अगाडि कश्मीरको पलुवा जिल्लामा आतंकवादी समूहको आक्रमणबाट भारतका ४० जना सैनिक मारिएका थिए । यसबाट भारत र पाकिस्तानबीच द्वन्द्व झन् चर्किएर लडाकु विमानबाट आक्रमणसम्मको स्थिति आएको थियो ।

शनिबार, फाल्गुन २५, २०७५ मा प्रकाशित खबर