एसईई परीक्षा स्थगितको विरोधमा परीक्षार्थी आगजनी उत्रिए, स्थिति तनावग्रस्त बन्यो

बारा। लगातार प्रश्न पत्र बाहिरिएपछि माध्यामिक शिक्षा परीक्षाको प्रदेश २ मा स्थगित गरिएपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । बिहीबार अनिवार्य विज्ञान र शुक्रबार अनिवार्य सामाजिक विषयको परीक्षा हुनु अघि नै प्रश्न पत्र बाहिरिएपछि सरकारले प्रदेश २ को उक्त दुई विषयको परीक्षा रद्द गर्दै बाँकी परीक्षा पनि स्थगित गरेको छ । जसको विरोधमा उत्रिएका परीक्षार्थीहरुले आगजनी गरेका छन् ।

यसैक्रममा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा एसईई परीक्षार्थी र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरी जवान निरु श्रेष्ठ र केही विद्यार्थीहरु घाइते भएका छन् । विद्यार्थीहरुले केही सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् । विद्यार्थीहरुले प्रहरीको गाडीमा ना १ झ ७१२ आगजनी गरेका छन् ।

विद्यार्थीले वीरगञ्ज–पथलैया सडक अवरुद्ध गर्न थालेपछि प्रहरीले लाठीचार्ज गरेको थियो । स्थिति तनावपूर्ण बनेपछि प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ । विद्यार्थीहरुको प्रदर्शनका कारण बिहान ७ बजेदेखि नै राजमार्ग अवरुद्ध छ ।

शनिबार, चैत्र १६, २०७५ मा प्रकाशित खबर