देशैभर बन्दको प्रभाव, बिभिन्न स्थानमा वम विष्फोटन सहित क्षति र केहि पक्राउ..

मकवानपुरको चौकी टोल र खानीगाउँमा दुई ट्रकमा आगजनी भएको छ । बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले हेटौंडा-१ चौकीटोलमा र थाहा नगरपालिका- १ खानीगाउँमा ट्रकमा आगजनी गरेका हुन् ।

त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकीटोलमा रोकिराखेको ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगजनी भएको स्थान प्रहरी चौकी नजिकै पर्दछ ।यसैगरी हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८००७ नम्बरको एउटा खाली ट्रकमा पनि आगजनी भएको प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भटराईले जानकारी दिए ।

बन्दको क्रममा हेटौंडा बजारको मुख्य चोक बुद्धचोक नजिक राखेको प्रेसरकुकर बम नेपाली सेनाको निष्कृय पारेको छ ।

यस्तैै पूर्वपश्चिम राजमार्गको हेटौंडा-९ पशुपतिनगरमा ‘खतरा’ लेखिएका शंकास्पद वस्तुु पनि फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहले जानकारी दिए ।

 

काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाहरुमा विष्फोटक पदार्थ र शंकास्पद वस्तु फेला परेका छन् ।भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिक सोमबार बिहान फेला परेको शंकास्पद वस्तुलाई सुरक्षाकर्मीको टोलीले निष्कृय पारेको छ । सोमबार बिहान पौने करिब तीन बजेतिर प्रहरीको मोबाइल गस्ती टोलीले सेतो झोलामा शंकास्पद बस्तु फेला पारेको थियो ।


यसैगरी नवलपुरको अरुणखोला पुल नजिकै लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार भएको छ । पेट्रोल बमबाट चालक घाइते भएका छन् ।

यसैगरी मोरङको सुन्दरहरैंचा ७ ठडिया चोक नजिक फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले निष्कृय पारेको छ ।रौतहटको चन्द्रनिगाहपुर मुख्य चोकमा पनि प्रेसरकुकर बम फेला परेको छ ।अर्घाखाँचीको सन्धिखर्कस्थित अर्घाखाँची आवासीय माविमा र बाग्लुङको बाग्लुङ नगरपालिका २ कुडुलेचोकमा पनि शंकास्पद बस्तु फेला परेका छन् ।कपिलवस्तुको वाणगंगाका दुई स्थानमा र पोखराको पृथ्वी चोकमा पनि शंकास्पद बस्तु फेला परेका हाम्रा सहकर्मीहरुले जनाएका छन् ।ती सबै शंकास्पद बस्तुहरु विप्लव समूहले सोमबारको एक दिने बन्द सफल पार्ने उद्देश्यले राखेको अनुमान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा आइतबार अपराह्न काठमाडौंका तीन स्थानमा बम विफोट हुँदा चार जनाको मृत्यु भएको थियो । काठमाडौं र ललितपुरका बिभिन्न स्थानमा विष्फोटक पदार्थहरु पनि फेला परेका थिए ।

 

पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा पनि

विस्फोटक पदार्थ फेला परेको छ । प्रहरीका अनुसार, गजुरीबाट आएको नेपाली सेनाको सेनाको टोलीले झण्डै चार घण्टा लगाएर उक्त विस्फोटक पदार्थ निस्क्रिय पारेको छ ।

१२ जेठ, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३, इँटाभट्टा चोकमा पनि बम विष्फोट भएको छ । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा विष्फोट भएको हो ।चन्द्रागिरी प्रहरीका एक अधिकारीका अनुसार विष्फोटमा परेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा आकाश लामा छन् । अर्का व्यक्तिको पहिचान भएको छैन ।

उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । ललितपुरको लगनखेलमा पनि शंकास्पद वस्तु भेटिएको छ । त्यो पनि प्रेसर कुकर बम भएको आशंका गरिएको छ । यसअघि सुकेधारा र अनामनगरमा पनि प्रेसर कुकर बम विष्फोट भएको थियो । घटनामा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् ।

सोमवार, जेष्ठ १३, २०७६ मा प्रकाशित खबर