सोम, चैत्र २४, २०७६
Mon, April 6, 2020

चिनियाँ कम्पनीले नेपाललाई दियो २ हजार किट सहयोग


  • इन्द्रेणी समाज
  • प्रकाशित मिति : बिहि, चैत्र १३, २०७६


काठमाडौं, चैत्र १३ । चीनको बिइजिङ मल्टिपल ट्रेड एण्ड कमर्स ब्युरोले कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने किट नेपाल सरकारलाई उपलब्ध गराएको छ । ब्युरोले कोरोना भाइरसविरुद्ध लड्न बेइजिङस्थित नेपाली दूतावासमार्फत बुधबार २ हजार किट हस्तान्तरण गरेको हो ।

व्युरोको तर्फबाट काठमाडौंमा काम गर्ने इन्टरनेसनले इन्भेस्टमेन्ट एण्ड कोअपरेसन कन्सल्टिङ सर्भिस कम्पनी प्राइभेट लिमिटेडले किट अभावमा कोरोनाको पर्याप्त परीक्षण हुन नसकेकोतर्फ ध्यान दिँदै किट उपलब्ध गराइएको जनाएको छ ।

‘किट सहयोग नेपाल–चीनबीचको भातृत्वको भाव हो,’ कम्पनीका अध्यक्ष हरिप्रसाद ढुंगानाले एपीडी न्युजलाई भनेका छन् । बेइजिङस्थित नेपाली राजदूतावासका अनुसार, उपहारस्वरूप प्राप्त किट बिहीबार तिब्बत पुर्याइने छ । त्यहाँबाट भने स्थलमार्ग हुँदै काठमाडौं ल्याउने तयारी छ ।

सरकारलाई उपहारस्वरूप उपलब्ध गराइएको किट ३० हजार अमेरिकी डलर मूल्यबराबर रहेको र यसले २ हजार मानिसको स्वास्थ्य परीक्षण गर्न सकिने एपीडी न्युजले जनाएको छ । कोरोना भाइरस परीक्षणका निम्ति किट अत्यावश्यक मानिन्छ । तर, कोरोना विश्वका १ सय ९७ बढी देशमा फैलिएपछि यो सर्वसुलभ हुन सकेको छैन ।

पर्याप्त किट नभएपछि नेपाल सरकार यसको जोहोमा जुटेको बुधबार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका थिए । मन्त्री ढकालले चीनबाट तीन दिनभित्र आवश्यक स्वास्थ्य सामाग्री ल्याइने बताएका थिए । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन नेपालको साथमा रहेको भन्दै ट्वीट गरेकी थिइन् ।

किट अभावपछि टेकुस्थित राष्ट्रिय प्रयोगशालाले जनवरीदेखि हालसम्म ६८७ नमूना मात्र परीक्षण गर्न सकेको छ । यसमध्ये तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितमध्ये १ जना स्वास्थ्यलाभ गरेर घर फर्किसकेका छन् भने २ को उपचार भइरहेको छ ।


प्रतिक्रिया
सम्बन्धित समाचार
इन्द्रेणी समाज ||

सम्पर्क


+977-1-9841489835, +977-9849329319
[email protected]

सुचना बिभाग दर्ता नं. १७९५६९ – ०७४–७५
बुद्धनगर काठमाण्डौ,नेपाल

हाम्रो टिम


  • संयोजक / अध्यक्ष –कृष्ण कंडेल
    प्रधान- सम्पादक-दिपक घिमिरे
    सम्पादक-दिपक के.सी.
    व्यवस्थापक – भक्त ब देउवा

सामाजिक संजाल

© 2020 all right reserved to indrenisamaj.com | Site By : SobizTrend Technology